सिड्नी । मुलुक चिनाउने मेला बन्दैछ सिड्नीको नेपाल महोत्सव । नेपाल महोत्सव आगामी नोभेम्बर २३ शनिवार सिड्नीको डार्लिङ हार्बरस्थित टुम्वोलङ पार्कमा आयोजना हुने छ । नेपाल महोत्सव बिहान १० बजेबाट रातिको १० बजेसम्म चल्नेछ ।
गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाको पहलमा आयोजना भएको महोत्सवमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग विशेष सहकार्यमा नेपालको पर्यटन प्रवर्धनको लागि विविध कार्यक्रमहरू महोत्सवमा झल्किने भएको छ। कार्यक्रममा अस्ट्रेलियास्थित विविध पर्यटन र व्यवसायीक स्टलहरु रहनेछन् ।
यस्तै विविध नेपाली खानाका परिकारसहित दुई दर्जनबढी छुट्टा छुट्टै नेपाली परिकारका स्टल राखिने गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका गैर आवासीय नेपाली सङ्घ एनएसडब्लु राज्य समितिले जनाएको छ।
कार्यक्रमको प्रचार प्रसारका लागि सिड्नी सहरको लिभरपुल स्ट्रिट,बाथर्स्ट स्ट्रिट फेस्टिभल सम्पन्न हुने डार्लिङ हार्बरको तुम्वोलङ्ग पार्क वरपर नेपाली झन्डा फहराइने भएको छ। विशेषतः नेपाल हाउस मार्फत समग्र नेपालको भूगोल, भौगोलिक परिचय (तराई, पहाड, हिमाल) लाई प्रस्तुत गर्ने गरी नेपाल र नेपालीसँग सम्बन्धित विभिन्न पर्यटकीय स्थल, धार्मिक स्थल, ऐतिहासिक स्थलको जानकारी तथा विविध भेसभुसा, कला, कृति, भाषा साहित्य एवम् राज्य व्यवस्थाको विभिन्न काल खण्डको परिचय र जानकारी प्रस्तुत गरिने छ ।
अस्ट्रेलियास्थित नेपाली व्यवसायीको विशेष व्यावसायिक स्टल र प्रदर्शनीसँगै यस पटक नेपाली ह्याण्डीक्राफ्टका उत्पादनहरूसमेत महोत्सवका आकर्षण हुनेछ। कार्यक्रम सुरु हुनु अगाडि शनिवार बिहान साढे १० बजेबाट विशेष परेड र झाँकीमार्फत नेपालको कला संस्कृति झल्काउने गरी बाजा गाँजासहित शान्ति पद यात्रामार्फत सहर परिक्रमा गरिने कुरा अतिथि व्यवस्थापन समितिका संयोजक शीतल गिरिले जानकारी दिए ।
कार्यक्रममा नेपालबाट आएका द एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुति रहनेछ । साथमा स्थानीय कलाकारहरूको विविध साङ्गीतिक कार्यक्रम समेटिनेछ । साथै विभिन्न भाषा, संस्कृति झल्काउने नृत्यहरू प्रदर्शन गरिने कार्यक्रम रहेको छ। यस्तै दोस्रो पुस्ताका बाबु नानीहरूको विशेष सहभागिता गराउने र उनीहरूलाई पनि नेपालबाट आएका कलाकार जतिकै मञ्च दिने तयारी रहेको छ ।
यस्तै नेपाल र अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध स्थापना भएको करिब ७० वर्ष भई सकेको छ र नेपाली विद्यार्थी, पेसागत रोजगारहरू , दक्ष जनशक्तिको अस्ट्रेलिया आगमनमा उल्लेख्य वृद्धि भइरहेको छ । यसै परिप्रेक्षकमा नेपाल र अस्ट्रेलियाबिचको राजनीतिक , कूटनीतिक सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यका साथ अस्ट्रेलिया सरकारका प्रतिनिधि तथा राजनीति दलका नेताहरूको विशेष सम्बोधन रहने एनआरएन एनएसडब्लुका सचिव कल्याण खड्काले बताए ।
प्रतिक्रिया