१५ दिनभित्र बक्यौता नतिरे फेरि लाइन काट्छौं : कुलमान घिसिङ

१५ दिनभित्र बक्यौता नतिरे फेरि लाइन काट्छौं : कुलमान घिसिङ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले सरकारको निर्देशन पालना गर्दै उद्योगमा बिजुली जोड्ने निर्णय गरेको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले मन्त्रिपरिषदको उद्योगमा बिजुली जोड्ने निर्णयपछि ऊर्जा मन्त्रालयको पत्रअनुसार सञ्चालक समितिको बैठक बसेको र बोर्डले सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको बताए ।

‘कात्तिक ८ गते लाइन काटेका थियौं । भर्खरै सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरी २४ घण्टाभित्र बिजुली जोड्न निर्देशन दिएको छ । अब १५ दिनभित्र बक्यौता उठाउन लाग्छौं । १५ दिनभित्र उहाँहरूले सरकारको निर्देशनअनुसार बक्यौता तिर्नुपर्छ । नतिरे हामी कानुनी प्रक्रियामा जान्छौँ,’ उनले भने ।

‘जनतालाई अध्यारोमा राखेर उद्योगमा प्रयोग भएको बिजुलीको बक्यौता कानुनसम्मत जुनसुकै हालतमा उठाउँछु,’ उनले थपे ।

निर्देशक घिसिङले ट्रक तथा डेडिकेटेड विद्युत् महसुल बक्यौताको सम्बन्धमा आफूहरूले जारी गरेको बिललाई नियामक निकायले स्वीकृत गरेको बताएका छन् ।

उनले नेपाल विद्युत् प्राधिकरणको नियमनकारी निकाय विद्युत् नियमन आयोग भएको भन्दै आयोगले प्राधिकरणले जारी गरेको बिलको पहिलो किस्ता तिरेपछि मात्रै लाइन जोड्न निर्देशन दिएको भन्दै अरू निकायले निर्देश दिने काम उपयुक्त नभएको बताएका छन् ।

उनले भने, ‘नियमन आयोगले भर्खरै एक किस्ता नबुझाएसम्म लाइन नजोड्नुस् र यो बिल उठाउनुस् भनेर निर्देशन दिएको छ । हाम्रो कानुनी संरचना भनेको नियमन आयोग हो र अदालतहरू नै हो । अरू प्रशासनिक निकायले यो केल ठिक छैन भन्न मिल्दैन ।’