चीन (ईन्सी, हुवई) । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र चीनबिच अनेक ऐतिहासिक, गहिरो र मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन् ।
उनले अब त्यस्तो सम्बन्धलाई दुई देशका जनताको तहमा विस्तारित गर्न दुई देशका प्रदेश र स्थानीय तहबिच भगिनी सम्बन्ध वृद्धि गर्न प्रस्ताव गरेका छन् । नेकपा (एमाले) को उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहेका पोखरेलले चीनका विभिन्न स्थानमा आयोजित औपचारिक तथा अनौपचारिक कार्यक्रममा यस्तो प्रस्ताव गरेका हुन् ।
जवाफमा चिनियाँ नेता तथा जनप्रतिनिधिले त्यसतर्फ अघि बढ्न सकिने बताए । हुवई प्रदेश जनसरकारद्वारा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “चीन र नेपाल सरकार तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा (एमाले) बिच गहिरो ऐतिहासिक सम्बन्ध छ । अब जनस्तरमा पनि सम्बन्ध विस्तार गर्न जरुरी छ ।”
दुई देशका जनताबिच आत्मीय सम्बन्ध विस्तार गर्न गत हप्ता मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरेकाे भगिनी प्रदेश सिचुवान र तिब्बतको नाछु प्रदेशका प्रमुखले गरेको भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणले महत्त्वपूर्ण योगदान गरेको उनले स्मरण गरे ।
उनले मित्रताको साक्षी इतिहास, भूगोल, राजनीतिक, धार्मिक, सांस्कृतिक लगायतका ऐतिहासिक पक्ष रहेको स्मरण गरे । हुवई प्रदेश जनसरकारका गभर्नर तथा चिनिया कम्युनिष्ट पार्टी हुवई प्रदेश पार्टीका महासचिव वाङ जोङलिङले चीन र नेपालबिच सम्बन्ध राम्रो र भविष्य उज्ज्वल रहेको चर्चा गर्दै सम्बन्ध र सहयोग आदान प्रदानका अनेक क्षेत्र रहेको बताए ।
यसैगरी हुवई विश्वविद्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको प्रगतिमा चीनको सहयोग र सदभाव प्रशंसनीय रहेको स्मरण गर्दै चीनमा नेपाली विद्यार्थीले अध्ययन र विज्ञता हासिल गर्ने अनुकूल वातावरण बन्ने अपेक्षा गरे ।
प्रतिक्रिया