ओली सरकार ढालेर सडकबाटै नयाँ सरकार बनाउने प्रभु साहको उद्घोष

ओली सरकार ढालेर सडकबाटै नयाँ सरकार बनाउने प्रभु साहको उद्घोष



जलेश्वर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार असफल भईसकेको दाबी गरेका छन् । अब आम जनताले सडकबाटै यो सरकार र व्यवस्थाको अन्त्येष्टि गर्नुको विकल्प नभएको साहको टिप्पणी छ । आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज (सोमबार) महोत्तरीको जलेश्वरमा आयोजित आमसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले शान्ति सुरक्षा कायम गर्न असफल भएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हरेक बस्तुमा कर आतंक मचाएकाले आम जनता सडकमा आह्वन समेत गरेका छन् ।

आम जनताको शासन व्यवस्थाका लागि सडकबाटै यो सरकार र व्यवस्था फाल्ने बताउदै तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए । उनले जनता र मुलुक विरोधी तानाशाही सरकार र यो व्यवस्थाको विरोधमा उत्रिन आह्वान गर्दै भ्रष्ट नेताहरूमाथि कसैको विश्वास नभएको बताए । उनले कुनै काम नलाग्ने यो सरकार र व्यवस्था फाल्नमा ढिलाई गरे मुलुकले ठुलो मुल्य चुकाउनुपर्ने बताए ।

मुलुकमा मनोमानी कर बढाएर जनताको ढाड सेक्ने काम भईरहेको साहको आरोप छ । उनले अहिले भ्रष्टाचार, लुट, आतंक, बेरोजगारी बढेको र कामका लागि युवाहरु खाडी मुलुक जान बाध्य बनाइएको उनले बताए । तीनै तहको सरकारले मनोमानी कर आतंक मचाएको बताउदै उनले यस्तो भ्रष्ट व्यवस्था र सरकारविरुद्ध कहिलेसम्म चुप लागेर बस्ने भन्दै प्रश्न गरेका छन् । यस्तो अवस्थामा अब जनताले सडकबाटै यो व्यवस्था र सरकार फाल्ने उदघोष गर्दै सडकबाटै सरकार गठन गर्नेसम्मको चेतावनी दिए ।