नक्कली कागजात बनाएर जनतामा भ्रम सिर्जना गर्न खाेजियाे : महासचिव पोखरेल

नक्कली कागजात बनाएर जनतामा भ्रम सिर्जना गर्न खाेजियाे : महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् ।

कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई बर्वाद बनाउने विषवृक्ष भएको पोखरेलले प्रष्ट पारेका छन् । ‘यस प्रकारको षडयन्त्र र अराजकतावाद राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो’, सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन् ।

आफूलाई सामाजिक अभियन्ता भन्ने दुर्गा प्रसाईँले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए । प्रसाईंले सो भिडियो सामाजिक सञ्जालमा राखेपछि महासचिव पोखरेलले यो राष्ट्र र जनताविरुद्धको षडयन्त्र भएको उल्लेख गरेका हुन् ।

‘प्रसाईले म मर्न तयार छु तर यस्ता तस्करसँग झुक्न तयार छैन’ भन्दै सामाजिक सञ्जालमा भिडियो राखेका थिए ।