उपनिर्वाचन : ३७६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन

उपनिर्वाचन : ३७६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले निर्वाचन कार्यतालिका अनुसार बुधबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका लागि उम्मेदवारी दिएका ४१० जनामध्ये ३ जना निर्विरोध निर्वाचित भएको र ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३७६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका आयोगले जानकारी दिएकाे छ । त्यसैगरी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मदेवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

४१ स्थानमा विभिन्न पदमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरेर ३७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिन्ह पनि प्रदान गरेको छ ।