उपनिर्वाचन : बाजुरामा माओवादीको समर्थन एमालेलाई

उपनिर्वाचन : बाजुरामा माओवादीको समर्थन एमालेलाई



बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेलाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ । माओवादीले उम्मेदवारी फिर्ता लिएर एमालेलाई समर्थन गरेको हो ।

माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिएर नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाको प्रचारमा खटिएकी छिन् । माओवादी केन्द्र बाजुरका जिल्ला अध्यक्ष देवीचन्द्र बुढा दीपकका अनुसार पार्टीले कुनै निर्णय नगरे पनि विकले उम्मेदवारी फिर्ता लिएकी हुन् ।

मंसिर २ गते माओवादी केन्द्रबाट उनले उम्मेदवारी दर्ता गरेकी थिइन् । ५ गते एमालेलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको भोली पल्टैबाट उनी एमाले प्रचार प्रसारमा लागेकी हुन् ।

माओवादीले पालिकास्तरबाटै निर्णय गरेर विकको उम्मेदवारी फिर्ता गरेको बताइएको छ । २०८४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई उपाअध्यक्षसहित केही वडा अध्यक्षमा सर्मथन गर्ने सहमति भएको छ । यता, एमाले सुदूरपश्चिम सचिव रणबहादुर चन्दले माओवादीको समर्थनबारे वडा र पालिकास्तरमा निर्णय भएको बताए ।

स्वामीकार्तिकको उपाध्यक्षका लागि कांग्रेस, एमाले र नेकपा एकीकृत समाजवादीबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । कांग्रेसबाट पूलतीसरा शाही, एमालेबाट बुढा, नेकपा एसबाट जवा शाही उम्मेदवार छन् ।

२०७९ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको ४ माघ २०८० मा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।