काठमाडौं । मंसिर १६ गते ३४ वटा वडामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । यी ३४ वटा वडामध्ये १९ वटामा नेपाली कांग्रेस निर्वाचित भएको थियो । एमाले ७ वटा र माओवादी ६ वटा वडामा निर्वाचित भएका थिए । जनता समाजवादी नेपाल एक स्थानमा र एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।
कोशी प्रदेशमा ७ वटा वडामा, मधेशमा ४ वटा वडामा, बागमतिमा ५, गण्डकीमा १, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ४ वटा वडामा उपनिर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशको पुथा उत्तरगंगामा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।
अधिकांश वडाध्यक्षको मृत्यु र केही वैदेशिक रोजगारीमा देश छाडेकाले ती स्थान उपनिर्वाचन हुन लागेको हो । पछिल्लो राजनीतिक गतिविधिलाई विश्लेषण गर्दा विगतको निर्वाचन परिणाम नदोहोरिन सक्ने सम्भावना देखिएको छ । अधिकांश स्थानमा कांग्रेस र एमालेकाे नै प्रतिस्पर्धी भएकाले परिणाम नदोहोरिने सम्भावना रहेको छ । कांग्रेस र एमालेलाई विरासत जोगाउन ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ ।
कोशी
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ मा कांग्रेसका दिलप्रसाद बोख्खिमले ४०३ मत ल्याएका थिए भने एमालेकी कुमारी सावदेनले ३९९ मत प्राप्त गरेकी थिइन् । उनीहरुबीच जम्मा ४ मतको फरक देखिन्छ । यस्तै झापाको कन्काइ नगरपालिका वडा नं ६ मा एमालेका दीर्घबहादुर थापाले ५०८ मत प्राप्त गरेर निर्वाचित भएका थिए । उनलाई स्वतन्त्र उम्मेदवार चुनौति दिएका थिए । उनले ४४० मत प्राप्त गरेका थिए ।
तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८ मा कांग्रेसका तेजमान लिम्बु विजयी भएका थिए । उनले ५२४ मत ल्याउँदा एमालेका तुलसीराम खनालले ४१३ मत पाएका थिए । सुनसरीको गढी गाउँपलिका वडा नं ६ मा एमालेका सडानन्द उराव झागडले ७१२ मत ल्याउँदा माओवादीका कुशेश्वर खेरवारले ४२४ मत पाएका थिए ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५ मा कांग्रेसका गोपीकृष्ण कार्कीले ३८४ मत ल्याएर विजयी हुँदा एमालेका गोपाल नेपालले ३७० मत पाएका थिए । उनीहरुबीच १४ मतान्तर रहेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ मा कांग्रेसका चुडामणि काफ्ले ४३९ मत ल्याएर विजयी हुँदा एमालेका रमेश राउतले ४०८ मत प्राप्त गरेका थिए । यसैगरी उदयपुरकै बेलका नगरपालिका वडा नं ९ मा कांग्रेसकै पदमबहादुर खड्का ६७१ मत ल्याएर निर्वाचित हुँदा एमालेका रणजीत राईले ५४८ मत प्राप्त गरेका थिए ।
मधेश
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ मा कांग्रेसका प्रितमलाल चौधरी ५३५ मत ल्याएर निर्वाचित हुँदा एमालेका धीरेन्द्रकुमार साहले ४६९ मत प्राप्त गरेका थिए । यस्तै वडा नं.४ मा कांग्रेसका हरिप्रसाद रायले ३३३ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालका महेन्द्र यादवले २६९ मत प्राप्त गरेका थिए ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ मा कांग्रेसका विश्वनाथ यादव ६१८ मत ल्याएर विजयी हुँदा एमालेका प्रमोद यादवले ३७७ मत प्राप्त गरेका थिए । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २ मा माओवादीका मुकेशकुमार यादव ४३३ मत ल्याएर विजयी भएका थिए । उक्त वडामा कांग्रेसका मोहम्मद जानिफ खाँले ३७५ मत प्राप्त गरेका थिए ।
रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ मा एमालेका शेखखली उलले ६८३ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका शेख अब्दुल खलिकले ५७८ मत प्राप्त गरेका थिए । यसैगरी राजपुर नगरपालिका वडा नं ६ मा कांग्रेसका शेख मुजेरम आलामले ५३४ मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मोहम्मद नसिब अख्तिरले ४६५ मत पाएका थिए । गढीमाई नगरपालिका वडा नं ८ मा जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका बैद्यनाथ ठाकुर लोहार ५६१ मत प्राप्त गरेका थिए ।
बागमति
काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ मा कांग्रेसका हिरालाल महर्जन ७७८ मतले विजयी हुँदा एमालेका हर्ष महर्जनले ५८२ मत प्राप्त गरेका थिए । यसैगरी वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका राजेन्द्र बानियाँले १०५७ मत पाएका थिए । काठमाडौं महानगरपालिका वडा नं १६ मा कांग्रेसका मुकुन्द रिजालले ४०१९ मत पाएर विजयी हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले ३३१० मत पाएका थिए ।
नुवाकोटको ककनी गाउँपालिका वडा नं २ मा कांग्रेसका तिलकबहादुर लामाले ८८८ मत पाउँदा एमालेका एमालेका कृष्ण घिमिरेले ७३४ मत प्राप्त गरेका थिए । यसैगरी, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२ मा माओवादीका ललितबहादुर घलान १३७१ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका अर्जुनप्रसाद तिवारीले १३४० मत पाएका थिए ।
गण्डकी
गोरखाको गोरखा नगरपालिका वडा नं ५ मा एमालेका खिलबहादुर राना ४५३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका गीता थापामगरले ४२८ मत प्राप्त गरेका थिए ।
लुम्बिनी
गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ बाट नेपाली कांग्रेसका मोहन घिमिरे ११८२ मत ल्याएर निर्वाचित हुँदा एमालेका नारायणबहादुर थापाले ११४३ मत प्राप्त गरेका थिए । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसका टंकबहादुर पुनले ४८८ मत प्राप्त गर्दा एमालेका बेगम पुनले ४८० मत प्राप्त गरेका थिए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ मा कांग्रेसका सूर्यबहादुर विष्टले १२०९ मत प्राप्त गरेर विजयी हुँदा एमालेका नारायण अधिकारीले ५८० मत प्राप्त गरेका थिए । रुकुम (पूर्व) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा माओवादीका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् । कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ मा कांग्रेसका तिलकराम यादव १०३२ मत लिएर निर्वाचित भएका थिए । एमालेका अब्दुल मजिजले ८८९ मत प्राप्त गरेका थिए ।
कर्णाली
दैलेखको दुल्लु नगरपालिका वडा नं १३ मा एमालेका बिर्खबहादुर शाही ८२२ मत प्राप्त गरी निर्वाचित भएका थिए । निकटम प्रतिद्वन्द्व माओवादीका डम्बरबहादुर शाहीले ७७३ मत प्राप्त गरेका थिए । कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४ मा माओवादीका परबहादुर शाहीले २३४ मत प्राप्त गरी विजयी भएका थिए । नेपाल मजदुर किसान पार्टीका दिपबहादुर शाहीले १६१ मत प्राप्त गरी दोस्रो भएका थिए ।
जाजरकोट कुशे गाउँपालिका वडा नं ७ मा माओवादीका मनबहादुर घर्ती ३७० मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी खम्बबहादुर सिंहले ३१८ मत प्राप्त गरेका थिए । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ मा एमालेका नन्दलाल रोका १०८ मत ल्याएर विजयी भएका थिए । माओवादीका जंगबहादुर रोकायले १०२ मत पाएका थिए । रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका अलबहादुर खत्री ४६२ प्राप्त गरी निर्वाचित भएका थिए । उनलाई माओवादीका तीर्थबहादुर खत्रीले ४३४ मत प्राप्त गरी टक्कर दिएका थिए ।
सुदूरपश्चिम
बझाङको सुर्मा गाउँपालिका वडा नं ४ मा एमालेका सर्जनबहादुर बोहोरा ६२९ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका लोकबहादुर बोहोराले ६०४ मत प्राप्त गरेका थिए । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६ मा कांग्रेसका पुष्पराज जोशी ५१३ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका देवीबहादुर भण्डारीले ३८७ मत प्राप्त गरेका थिए ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ मा मनोरथ भट्ट ५८२ मत पाएर निर्वाचित भएका थिए । दोस्रो भएका एमालेका मानसिंह बडानले ३०२ मत प्राप्त गरेका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा कांग्रेसका महेन्द्र खड्का ११०२ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका जनकराज अवस्थीले ६९८ मत प्राप्त गरेका थिए । खड्काको गत पुस २५ गते मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।
प्रतिक्रिया