काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं उपत्यकाको प्रतिनिधित्व गरेको ‘काठमाडौं गोर्खाज’ ले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ । १५ मंसिरदेखि आगामी ६ पुससम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सहभागी सबै टोलीलाई पाखा लगाउँदै काठमाडौं गोर्खाज लिगको प्रथम संस्करणकै उपाधि कब्जा गरेर इतिहास रच्ने दाउमा छ । काठमाडौं गोर्खाजका मुख्य प्रशिक्षक बसन्त शाही ठकुरीले आफ्नो टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए ।
‘काठमाडौं गोर्खाज प्रतियोगितामा खाली सहभागी मात्र बन्न चाहन्न, उपाधि नै कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ’, उनले भने । यसअघि भैरहवालगायतका स्थानमा अभ्यास खेल खेलेको काठमाडौं गोर्खाजले एनपीएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । काठमाडौं गोर्खाजले श्रीलंका र बंगलादेशका केही खेलाडीसँग अभ्यास खेल खेलेको उनको भनाइ छ ।
अक्सनका समयमा काठमाडौं गोर्खाजलाई कमजोर टोली भनिएको प्रसङ्ग उल्लेख गर्दै प्रशिक्षक शाहीले भने, ‘कतिपयले काठमाडौं गोर्खाजलाई ‘अनलक्की’ टोलीसमेत भन्न भ्याए । अक्सनमा हामीलाई भाग्यले त्यति साथ दिएन । तर पनि नेपाली युवा खेलाडी र विदेशी खेलाडीको साथले हाम्रो टोली सन्तुलित बन्न पुगेको छ ।’ प्रशिक्षक शाही काठमाडौं गोर्खाज बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट रहेको बताउँछन् । काठमाडौं गोर्खाजका मार्की खेलाडी करण केसी थोरै अस्वस्थ भएकाले उनी चिकित्सकको नियमित निगरानीमा रहेको उनले बताए । ‘उहाँले अलिअलि अभ्यास गरिरहनुभएको छ, प्रतियोगिताको उद्घाटन खेलअघि पूर्ण रूपमा खेल्न सक्नुहुन्छ भन्नेमा विश्वस्त छु’, प्रशिक्षक शाहीले भने ।
काठमाडौं गोर्खाजले आफ्नो पहिलो खेल चितवन राइनोजसँग १७ मंसिरमा खेल्ने छ । प्रशिक्षक ठकुरी टी-२० क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर र बलियो भन्न नमिल्ने बताउँछन् । चितवनविरुद्धको पहिलो खेलमा नै काठमाडौं गोर्खाजले जित निकाल्नेमा उनी विश्वस्त छन् । काठमाडौं गोर्खाज काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको छ । काठमाडौं गोर्खाजको मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्य करण केसी छन् । करणले सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । काठमाडौं गोर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र शाहब आलम छन् । यस्तै, यु-१९ बाट खेलेका दिपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् ।
त्यसैगरी, काठमाडौं गोर्खाजले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका नामिबियाका कप्तान जेरार्डले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । नेदरल्यान्ड्सका माइकलले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । जेरार्ड र माइकल दुवै ‘एसोसिएट’ देशबाट उत्कृष्ट खेल खेल्ने खेलाडी हुन् ।
इंग्ल्याण्डका नाथन सोटरले पनि घरेलु क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । उनले न्यू साउथ वेल्सको यु–२३ टोलीबाट पनि खेलेका छन् । त्यसैगरी, क्यारिवियन क्रिकेट लिग, इन्टरनेसनल क्रिकेट लिग टी–२० लगायत विश्वका विभिन्न खेल खेलेको अनुभव उनीसँग छ । टोलीको ‘आइकोनिक प्लेअर’मा क्रिस कार्की छन् । काठमाडौं गोर्खाजको एम्बासडरमा नेपाली राष्ट्रिय महिला टोली कप्तान इन्दु वर्मा छिन् ।
प्रतियोगिताका लागि माइकल लेभिट भने नेपाल आइसकेका छन् । बाँकी विदेशी खेलाडी केही दिनभित्र नेपाल आइपुग्ने काठमाडौं गोर्खाजले जनाएको छ । यसैगरी, काठमाडौं गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले टोलीको ब्यालेन्स राम्रो भएकाले प्रतियोगिताको ट्रफी आफ्नो टोलीले कब्जा गर्ने दाबी गरे । उनले काठमाडौं गोर्खाजमा युवा खेलाडी धेरै रहनुका साथै राम्रा विदेशी खेलाडी भित्र्याएकाले प्रतियोगिताको उपाधि जित्ने विश्वास व्यक्त गरे ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको एनपीएल अहिलेसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । प्रतियोगितामा काठमाडौं गोर्खाजसँगै लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा १५ मंसिरमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया