पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचलाउने निर्णय

पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचलाउने निर्णय



काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने भएको छ । मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।

नेकपा एमालेका प्रदेशसभा सदस्य समेत रहेका अधिकारीमाथि मुद्दा नचल्ने निर्णय भएको हो । अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने भएको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता भएको हो । दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन् ।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए ।

अधिकारीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

राई, शेर्पा र देवकोटाविरूद्ध अध्यागमनले ‘एक्सक्लुसन अर्डर’ पठाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले बताए ।

‘उहाँको संलग्नता देखिँदैन । उहाँले नै जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिन्छ । जापानको ल मिनिस्टरले तीन जनालाई चाहि फिर्ता गरेको देखिन्छ । तीन जनाविरूद्ध एक्सक्लुसन अर्डर भनेर पठाएको छ । र मन्त्री आफैले अनुरोध गरेर फिर्ता आएको देखिन्छ,’ अर्यालले भने ।

अधिकारीले जापान पुगेर आफू प्रयोग भएको थापा पाएपछि त्यहाँबाट नेपाल प्रहरीका डिआइजीहरूलाई मेसेज गरेको देखिएको अर्यालले बताए ।