काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताएका छन् ।
मंगलबार सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितता भएको बताए ।
उनले भने, ‘मानव जाति सचेत प्राणी भएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रह्यो । तर उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । यसका लामा इतिहास छन् । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार दिन थाल्यो ।’
सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर अब अनाथ भएर मैले अभिभावकत्व पाइनन् भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ ।’
प्रतिक्रिया