काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् । उनले बुधबार भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गरे ।
‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रूपमा सदुपयोग गरेर देशमा व्याप्त बेथिति, विसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।
यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रूपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रूपमा अघि बढाएको उनले स्पष्ट पारे ।
प्रतिक्रिया