नयाँ दलको टाउकोमै समस्या छ : गगन थापा

नयाँ दलको टाउकोमै समस्या छ : गगन थापा

प्रचण्डजी हप्तैपिच्छे कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गर्नुहुन्छ



काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नयाँ दलमा मूल नेतृत्वमै समस्या रहेको बताएका छन् । कीर्तिपुरको लोकतान्त्रिक चोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले दलहरूमा समस्या रहेको र नयाँ दलमा भने टाउकोमै समस्या रहेको टिप्पणी गरे ।

मिसन ८४, मिसन ८४ को रटान लगाउनुको कुनै अर्थ नभएको थापाले बताए । ‘हामी अहिले के गरिरहेका छौं? एउटा चुनाव लड्छौं, जित्छौं । त्यसपछि हामी अर्को चुनावको सपना देख्न थाल्छौं’ महामन्त्री थापाले भने, ‘२०८४ छोडिदिनुस् । २०८१/८२/८३/८४ कसले लिन्छ? नेपाली कांग्रेस जिम्मा लिन चाहन्छ ।’

कांग्रेसले कीर्तिपुरको प्रमुख पदमा उठाएका कृष्णमान डंगोल बेदाग रहेको थापाले दाबी गरे ।

महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक हप्ता कांग्रेसलाई सरकारको नेतृत्व गरिदिनुस् भनेर प्रस्ताव पठाउने गरेको खुलासा गरे ।

उनले कांग्रेस प्रधानमन्त्रीको आकांक्षाभन्दा स्थिर सरकारका पक्षमा रहेको बताए । “प्रचण्डले हप्तामा एकपटक लौन सरकारको नेतृत्व गर्नुस् भनेर खबर पठाउनु हुन्छ । पहिला अरुले पठाउँथ्यो,” महामन्त्री थापाले भने, “कांग्रेस संसद्को पहिलो पार्टी हो । प्रधानमन्त्री बन्न कांग्रेसलाई गाह्रो छैन । तर, हामीलाई प्रधानमन्त्री होइन स्थिर सरकार चाहिएको हो ।”

महामन्त्री थापाले कांग्रेसको लडाइँ केपी ओली, प्रचण्ड वा अरु कुनै नयाँसँग नभएको बताए । उनले गरिबी बेरोजगारी, र भ्रष्टाचारविरुद्ध लड्नु पर्ने भन्दै त्यसका लागि गलत हल्लाबाट बच्नुपर्ने बताए ।

“हाम्रो लडाइँ बेरोजगारी र गरिबीविरुद्धमा हो । हामी सुशासनका लागि लड्न चाहन्छौँ,” महामन्त्री थापाले भने, “त्यसका लागि ठग रुखमूनि बसेको होस् कि सूर्यमूनि बसेको होस्, नयाँ होस् कि पुरानो होस् । जुनसुकै रङका ठगहरूलाई कानुनको दायरामा राख्न चाहन्छौँ ।” उनले नागरिकमा रहेका निराशा र गलत भाष्य चिर्ने काम कांग्रेसको भएको भन्दै परिणामबाट नागरिक धारणा बदल्ने बताए ।