मेरिटोक्रेसीमाथि अहिलेको सरकारले आक्रमण गर्‍यो : अध्यक्ष प्रचण्ड

मेरिटोक्रेसीमाथि अहिलेको सरकारले आक्रमण गर्‍यो : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा आफू सरकारको नेतृत्वमा हुँदा विश्वविद्यालयमा कार्यान्वयन गरेको मेरिटोक्रेसीमाथि अहिलेको सरकारले आक्रमण गरेको बताएका छन् ।

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै प्रचण्डले आफू नेतृत्वको सरकारले शैक्षिक संस्था सुधारका लागि भएका प्रयासहरूमाथि अहिलेको सरकारले आक्रमण गर्न थालेको बताएका हुन् ।

‘सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ । मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवान्छित क्रियाकलाप भइरहेका छन्,’ उनले भने ।

देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि नेपाली जनतालाई सह्य नहुने बताए । ‘यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहनेछ । भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट सङ्घर्षको झण्डा उठ्नेछ,’ प्रचण्डले भने ।