काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली मंसिर १७ देखि २० गते (डिसेम्बर २–५सम्म)सम्म औपचारिक भ्रमणका लागि चीनमा रहनेछन् ।
चिनियाँ प्रधामन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई मंसिर १७ देखि २१ गतेसम्मको तालिका राखेर भ्रमणको निम्तो पठाएका थिए ।
चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग दुई पक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका बेला प्रधानमन्त्री ओलीले पेकिङ युनिभर्सिटीमा सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीको श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, सांसदहरू, उच्च पदस्थ सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मीसहित ८७ जना चीन जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
८७ सदस्यीय प्रधानमन्त्रीको भ्रमण टोलीमा ३२ जना सरकारी अधिकारी रहेका छन् ।
प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विहीबार नै चीन गइसकेकी छन् । उनी उतैबाट प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुने बताइएकाे छ ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली मंसिर २० गते नेपाल फर्कने छ ।
प्रतिक्रिया