यू-१९ एशिया कप : नेपाल श्रीलंकासँग ५५ रनले पराजित

यू-१९ एशिया कप : नेपाल श्रीलंकासँग ५५ रनले पराजित



काठमाडौं । एसीसी यू-१९ पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ ।

श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७८ रनमा अलआउट भयो । नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए । श्रीलंकाका प्रभीन मनीषाले ३ विकेट लिए ।

यसअघि यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो । श्रीलंकाका शारुजन शानमुगनाथनले ६२ रन बनाए । नेपालका सन्तोष यादवले ४ विकेट लिए ।

यूएईमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा देश सहभागी छन् । यू-१९ एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि आइतवार बंगलादेशसँग र तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।