सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल


ग्लोब नेपाल
81
Shares

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ ।

आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ ।

उनका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन ९१३२ केभीए क्षमतामार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

सिरिजङ्घा –८ याम्फुदिनको राते खोलामा अवस्थित विद्युत् गृहबाट अमरपुर सब–स्टेसनसम्मको करिब ३१ किलोमिटर दूरीमा रहेका प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ । सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो ।

विसं २०७९ मङ्सिर अन्तिम साताबाट सुरु भएको आयोजना छोटो अवधिमै सम्पन्न भएको जनाइएको छ । करिब दुई अर्ब ६३ करोड २९ लाखको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सोही क्षेत्रमा काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले २१ दशमलव १३ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ, यसले स्थानीय र राष्ट्रिय ऊर्जा उत्पादनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।