लन्डन । जारी सिजनको प्रिमियर लिगमा आर्सनलले फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई ५-२ गोलले पराजित गरेको हो। सबै गोल खेलको पहिलो हाफमा भएका थिए।
आर्सनलले अग्रता गाब्रियलको गोलबाट सुरू भएको थियो। गाब्रियलले खेलको १० मिनेटमा गोल गरेका थिए। २७ मिनेटमा ट्रोस्साड, ओडेगार्डले ३४ मिनेटमा पेनाल्टीमा, काई हाभार्टजले ३६ मिनेटमा र बुकाओ साकाले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेका थिए।
वेस्ट ह्यामका वान बिसाकाले ३८ र एमर्सनले ४० मिनेटमा गोल फर्काएका थिए। दोस्रो हाफमा दुबै टोलीबाट कुनै गोल भएन।
जितसँगै १३ खेलबाट आर्सनलले २५ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल १२ खेलमा ३१ अंकसहित शीर्षस्थानमा छ। वेस्ट ह्याम युनाइटेड १३ खेलमा १५ अंकसहित अंक तालिकाको १४औं स्थानमा रहेको छ।
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
स्पेनिस ला लिगा अन्तर्गतको जारी सिजनका खेलहरू भइरहेका छन्। यसक्रममा शनिबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ। बार्सिलोनालाई लास पाल्मासले स्तब्ध पारेको हो।
अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई पाल्मासले २-१ गोलले पराजित गरेको छ। पाल्मासले खेलमा सुरूवाती अग्रता लिएको थियो। पहिलो हाफ बराबरी खेलको दोस्रो हाफमा पाल्मासका सान्द्रो रामिरेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
खेलको ६१ मिनेटमा बार्सिलोनाका कप्तान राफिन्हाले गोल फर्काएर बराबरी गरे। तर, ६७ मिनेटमा पाल्मासका फाबियो सिल्भाले अर्को गोल थपेर टोलीलाई २-१ को नतिजामा ल्याए।
त्यसपछि बार्सिलोनाले पाल्मासविरूद्ध गोल गर्न नसकेपछि खेल २-१ को अन्तरमा सकिँदा बार्सिलोनाले महत्वपूर्ण तीन अंक गुमायो।
१५ खेल खेलेको बार्सिलोना ३४ अंक साथ अझै शीर्षस्थानमै छ। १५ खेल नै खेलेको पाल्मास १५ अंक साथ खेल तालिकाको पन्ध्रौं स्थानमा छ।
१५ खेल खेलेको एथलेटिको म्याड्रिड ३२ अंक साथ लिगको दोस्रो स्थानमा छ। साबिक विजेता रियल म्याड्रिडल १३ खेलमा ३० अंक हासिल गरेको छ।
प्रतिक्रिया