कांग्रेस, एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भयो : वर्षमान

कांग्रेस, एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भयो : वर्षमान



रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले हालै सम्पन्न उपनिर्वाचनको परिणामले आफ्नो दलको पक्षमा जनमत बढेको पुष्टि भएको बताएका छन् ।

मंगलबार पार्टीको गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई मंगलबार सम्बधोन गर्दै पुनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रूपमा आफूहरूलाई जनमतले अनुमोदन गरेको बताए । कांग्रेस र एमालेलेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै उनले फैलाएको गलत अफवाहलाई जनताले खारेज गरेको बताए ।

‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौँ भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो’, पुनले भने, ‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौँ । उपचुनावको परिणामबाट जनताले त्यसको जवाफ दिएका छन् । हामीले आफ्नो जनमत देखाएका छौँ ।’

विगतका केही निर्वाचनमा तालमेल गर्दा कांग्रेस र एमालेले आफूहरूको मत लिएको तर आफूहरूलाई मत नदिएको पनि उपनिर्वाचनले पुष्टि गरेको उनले बताए । उनले कांग्रेस र एमालेको जनमत घटेको र आफूहरूको बढेको दाबी गरे । जितेका ११ ठाउँबाहेकमा पनि धेरै स्थानमा आफ्नो दल दोस्रो भएकाले त्यो पुष्टि हुने तर्क पुनको थियो ।

निर्वाचन परिणामले वर्तमान व्यवस्थालाई बहुदलीयबाट दुई दलीय व्यवस्थामा लैजाने र पालौलापो जनतालाई शासन गर्ने कांग्रेस-एमालेको महत्त्वाकांक्षामा धक्का लागेको उनले बताए ।