काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनमा प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका छन् । प्रेस चौतारी एमालेको भ्रातृ संस्था हो भने प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।
शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम थियो ।
चौतारीले अध्यक्षसहित ५ पदाधिकारी र युनियनले वरिष्ठ उपाध्यक्षसहित ८ पदाधिकारी लिने सहमति भएकाे छ ।
प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासन र लेखा समिति सभापतिमा उम्मेदवारी परेको छ ।
यस्तै युनियनले वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द उम्मेदवारी परेको छ । युनियन र चौतारीकाे गठबन्धनबाट महासचिवमा प्रकाश थापा र रामप्रसाद दाहाल दुई जनाकाे उम्मेदवारी परेको छ । त्यसैगरी सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, बैकुण्ठ पराजुली र अशोक तिवारीलाई उम्मेदवार बनाएको छ ।
महासंघमा युनियन र चौतारीले प्रदेश र जिल्ला पनि भागबन्डा गरेका छन् । कोशी, मधेस, कर्णाली र उपत्यका अध्यक्ष प्रेस चौतारीले लिने र बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट र प्रतिष्ठान अध्यक्ष प्रेस युनियनले लिने सहमति छ ।
महासंघका ४३ जिल्ला शाखा अध्यक्ष प्रेस युनियनले र ३४ जिल्ला अध्यक्ष प्रेस चौतारीले लिने सहमति भएको हो ।
माओवादी निकट प्रेस सेन्टरले नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रसँग गठबन्धन गरी उम्मेदवारी दिएको छ ।
प्रेस सेन्टरबाट अध्यक्षमा कमल गिरी, वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, महासचिवमा लेखनाथ न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण अधिकारी, सचिवमा उत्तर विष्ट, लेखा समिति संयोजक ध्रुव रावलको उम्मेदवारी परेको छ । यसमध्ये उत्तर विष्ट र समावेशी उपाध्यक्षमा सुवास साह एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका हुन् ।
प्रतिक्रिया