पर्सा । नेपाल र भारतबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी निरन्तर बढिरहेको छ । सार्वभौमसत्ता सम्पन्न देशका आ–आफ्नै शासन एवम् राज्य सञ्चालनका प्रणाली पृथक भए पनि खुला सिमाना भएका कारण तस्करी रोक्न एकल प्रकृतिको कर प्रणाली नै उपयुक्त हुने आर्थिक क्षेत्रका जानकारहरूले बताएका छन् ।
वीरगञ्जका उद्योगी–व्यवसायीले पनि खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रण गर्न भारतले लागू गरेको वस्तु तथा सेवा कर (जीएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीबीच तालमेल हुनुपर्ने माग गरेका छन् ।
भारत सरकारले कार्यान्वयन गरेको वस्तु तथा सेवा कर (जीएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीमा एकरूपता नहुँदा सीमावर्ती क्षेत्रमा चोरी तस्करीका घटना बढेकाले उनीहरूले त्यस्तो माग गरेका हुन् ।
पर्सामा रहेको सशस्त्र प्रहरी बलले चालू आर्थिक वर्षको पहिलो चार महिनामा भन्सार छलेर भित्र्याइएका १५ करोड १८ लाख रुपैयाँका सामान नियन्त्रणमा लिएको छ भने दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको छ ।
सीमावर्ती शहरमा भारतले लागू गरेको जीएसटी र नेपालको भन्सार महसूलबीच एकरूपता नहुँदा अवैध निकासी र पैठारी नियन्त्रण हुन नसकेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बताए ।
प्रतिक्रिया