गाईघाट । प्रस्तावित सगरमाथा विमानस्थल नबने उदयपुर क्षेत्र नं. १ का सांसद डा. नारायण खड्का नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र नागरिक उड्यान प्राधिकरण घेर्ने चेतावनी दिएका छन् । यसका तालुकदार मन्त्री बद्रीप्रसाद पाण्डे, सचिव डा. गणेशप्रसाद पाण्डे र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायतको टोली उदयपुर जिल्लाको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल अवलोकन गर्न पुगेका बेला सांसद खड्काले यस्तो चेतावनी दिएका हुन् ।
मन्त्री पाण्डेले सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित नहुँदा निर्माण कार्य रोकिएको र सरकारसँग पैसा नभएकाले तत्काल बनाउन नसक्ने अभिव्यक्ति दिएपछि सांसद खड्काले आक्रोसित हुँदै भने, ‘हजारौं रुख काट्न लगाएर, यहाँको वातावरण बिगारेर अहिले विमानस्थल निर्माण कार्य कुनै पनि बहानामा रोकिएमा जनता चुप लागेर बस्ने छैनन् । राज्यले महत्वपूर्ण काम जग्गाप्राप्ति र प्रस्तावित विमानस्थल क्षेत्रको रुख काट्ने काम गरी सकेको छ । अब यो वा त्यो बहानामा विमानस्थल निर्माणको कार्य रोकिए सयौं जनता लिएर म मन्त्रालय र प्राधिकरण घेर्न काठमाडौं जान्छु ।’
प्रस्तावित विमानस्थलको स्थलगत अवलोकन गर्न उदयपुर पुगेका मन्त्री पाण्डेले सरकारसँग विमानस्थल निर्माणका लागि आवश्यक बजेट नहुँदा विगत लामो समयदेखि निर्माण कार्य रोकिएको बताएका थिए । मन्त्री पाण्डेले उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागि जग्गाको मुआब्जा तिर्नु नपर्ने र जग्गा प्राधिकरणका नाममा आइसकेको अवस्थामा कुनै अन्य प्राविधिक कारणले रोकिएको नभएर सरकारले बजेट सुनिश्चित गर्न नसक्दा निर्माण कार्य सुचारु गर्न नसकिएको जानकारी गराएका थिए ।
मन्त्री पाण्डेले उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागि जनस्तरको सहभागितासँगै स्थानीय, प्रदेश र संघीय सरकारले लागत स्टमेट तयार गरी बजेटको सुनिश्चिता गरी अगाडि बढेमा मात्र विमानस्थल निर्माण हुनसक्ने जानकारी गराए ।
मन्त्रीले बजेट अभावको कुरा देखाएर जनस्तरको सहभागितासँगै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गरी विमानस्थल निर्माण कार्य सुरु गर्नुपर्ने बताएपछि स्थानीय विमानस्थल अब नबन्ने भन्दै निराश भएका थिए ।
प्राधिकरणका महानिर्देशक अधिकारीले भने उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल वातावरणलगायत सबै खाले विषयले उपयुक्त रहेको भन्दै आफूहरुले बजेट पाए तत्काल काम सुरु गर्ने स्पष्ट पारे । यसअघि पनि सरकारले बजेट विनियोजन नगरेको अवस्थामा आफूहरुले प्राधिकरणको तर्फबाट ५ करोड रकम विनियोजन गरेर काम गरेको बताउँदै सरकारले बजेट सुनिश्चित नगरी प्राधिकरणले मात्र काम अघि बढाउन नसक्ने भनाइ राखे ।
उदयपुरको त्रियुगा नगरपालिका–१ र २ वडामा रहेको सामुदायिक वन क्षेत्रको १५७ हेक्टर वन अधिग्रहण गरी करिब २६ प्रजातिका १५ हजार रुख कटानपश्चात विमानस्थल निर्माणको काम पूर्ण रुपले रोकिएको छ ।
प्रतिक्रिया