शेयर बजार दाेहाेराे अंकले घट्याे

शेयर बजार दाेहाेराे अंकले घट्याे



काठमाडौं । शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशलमव ५३ अंकले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ विन्दुमा झरेको छ । अघिल्लो हप्ताको अन्तिम कारोवार दिन अर्थात् गएको बिहीवार पनि नेप्से ३१ अंकभन्दा धेरैले घटेको थियो ।

आज जलविद्युत् र उत्पादनबाहेक सबै उपसमूहको शेयर घटेकोमा विकास बैंक उपसमूह दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै फाइनान्स, बीमा, व्यापार उपसमूहकाे शेयर उच्च अंकले घटेकाे छ ।

आज सप्तकोशी विकास बैंक र मायाखोला जलविद्युत् आयोजनाको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सपोर्ट लघुवित्त, बाराही जलविद्युत्, न्यादी जलविद्युत्, सुपरमादी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । बिहीवार चार अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका ९१ लाख ८० हजार कित्ता शेयर चार अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।