प्रहरीसँग मिलनको बयान : दशैंमा बुबाआमा मार्ने प्रयास गरेँ तर वातावरण मिलेन

प्रहरीसँग मिलनको बयान : दशैंमा बुबाआमा मार्ने प्रयास गरेँ तर वातावरण मिलेन



काठमाडौं । भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरेका खोटाङका मिलन आचार्यले गएकाे दसैंमा बुबाआमा दुबैकाे हत्या प्रयास गरेको बयान दिएका छन् ।

मंगलबार विहान महाराजगञ्ज प्रहरी वृत्तमा आत्मसमर्पण गरेपछि उनले प्रहरीमा यस्तो बयान दिएका हुन् । लोकसेवा परिक्षामा ७ पटक फेल भएपछि जिन्दगीसँग दिक्दार भएकाे उनकाे बयान छ ।

‘लोकसेवामा ६, ७ पटक फेल भएपछि म जिन्दगीसँग दिक्दार भएँ । मलाई डिप्रेसन भयो । लगालग लोकसेवा बिग्रेपछि अब जिन्दगीमा केही नहुने भयो भनेर बिरक्तिएँ । म बाच्दिनँ भन्ने लाग्यो ।’ मिलनले प्रहरीसँग भने, ‘बुबा पनि डिप्रेसनको बिरामी । एकचोटि आत्महत्या प्रयास गर्नुभएको थियो । म नबाँचेपछि परिवारका अरु कसरी बाँच्लान् भन्ने लाग्यो । त्यसैले मभन्दा पहिला बुबाआमा मर्नुपर्छ भन्ने ठानेँ । दशैंमा गाउँ गएको बेला मार्ने प्रयास गरेको थिएँ । तर वातावरण मिलेन ।’

सबैले न्याय र मुक्ति पाउने भयौं भन्ने साेँचेर बुवा र भाइलाई मारेकाे स्विकार्दै उनले आफु पनि गलबन्दीको पासो लगाएर रुखमा झुण्डिएकाे तर गलबन्दीको गाँठो फुस्किएर बाँचेकाे बताएका छन् । ‘अहिले बुवा उपचार गर्न आएको बेला ‘उपयुक्त’ मौका छोपेँ । हामी सबैले न्याय र मुक्ति पाउने भयौं भन्ने लागेर बुवा र भाइलाई मारेँ ।’ उनले भने, ‘मारेपछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पासो लगाएर रुखमा झुण्डिएँ । तर गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुवा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ ।’

मिलनले महाराजगञ्ज प्रहरीसँग अगाडि भने, ‘म त्यहाँबाट भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेँ । साँझ परेपछि चावहिलको सगरमाथा होटलमा कोठा लिएर बसेँ । त्यहाँ दुई रात बसेपछि आज बिहान पत्रिकामा समाचार देखेँ । त्यो पत्रिका बोकेर कोटेश्वरतिर गएँ । तर, त्यहाँ पुग्दा गल्ती ठाउँमा पुग्दैछु जस्तो लागेर गाडीबाट ओर्लिएँ । महाराजगञ्जको गाडी चढेँ । महाराजगञ्जको पुलिस अफिसको सरलाई पत्रिका देखाएर ‘यो मै हो’ भनेँ ।’