काठमाडौं । गत असोजमा आएको बाढी तथा पहिरोका कारण बन्द भएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आशिंक रुपमा बिजुली उत्पादन सुरु भएको छ ।
नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहमध्ये सबैभन्दा ठूलो सो आयोजनाले आज साँझदेखि पुनः बिजुली उत्पादन सुरु गरेको हो । कूल चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको सम्बन्धित आयोजनाले जनाएको छ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि हिजो मङ्गलबार बेलुका ७:४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोग गरी एक सय २० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहरमा क्षति पुर्याएको थियो ।
गोङ्गरस्थित विद्युतगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूलठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो ।
प्रतिक्रिया