जनकपुरधाम । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना भएको छ ।
जिल्लाका विभिन्न स्थानबाट ढल्केबर बजारमा बिक्रीका लागि ल्याइने हरियो तरकारी तथा फलफूलमा हुनसक्ने विषादीको मात्रा जाँच गर्ने उद्देश्यले सो प्रयोगशाला स्थापना गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।
मन्त्रालयअन्तर्गतका केन्द्रीय कृषि प्रयोगशालाद्वारा स्थानीयलाई विषादीरहित कृषिउपज उपलब्ध गराउने उद्देश्यले ढल्केबरमा उक्त प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको यहाँस्थित कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिए ।
केन्द्रीय कृषि प्रयोगशाला प्रमुख शान्ता कार्कीले खेतबारीमा कति मात्रामा विषादी छर्कने र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबारे जानकारीमूलक सूचना समयसमयमा दिइरहनुपर्नेमा जोड दिए ।
‘३५ प्रतिशत भन्दा कम विषादी प्रयोग भएको देखिएमा खानयोग्य हुन्छ, ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गनुपर्छ, ४५ प्रतिशतभन्दा बढी विषादी प्रयोग भएको देखिएमा अखाद्य मानिन्छ र त्यो वस्तु खानयोग्य हुँदैन,’ कार्कीले भने ।
केन्द्रीय प्रयोगशालाको सहयोगमा ४० लाख रुपयाँ लागतमा प्रयोगशाला निमार्ण गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल र केन्द्रीय प्रयोगशालाका प्रमुख कार्कीले संयुक्त रूपमा प्रयोगशाला उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया