रुकुमपश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसान व्यावसायिक सुन्तला खेतीमा लाग्न थालेका छन् । पालिकाभर अहिले व्यावसायिक सुन्तला खेती गर्ने किसानको सङ्ख्या एक सयभन्दा धेरै छ ।
पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेका त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार गाउँबाटै प्रतिकिलो ५२ रुपैयाँका दरले सुन्तला बिक्री भएको छ । कसैले योभन्दा धेरै मूल्यमा पनि बेचेका छन् ।
यस वर्ष त्रिवेणीका किसानले सुन्तला बिक्रीबाट एक करोड रुपैयाँभन्दा धेरै आम्दानी गरेका छन् । पालिकाभर तीन सय २४ रोपनी अर्थात् १६ दशमलव दुई हेक्टरमा सुन्तला खेती भइरहेको छ ।
सुन्तला खेतीबाट गएको वर्षभन्दा यस वर्ष राम्रो आम्दानी भएको त्रिवेणी–४ जुगेपानीका ५२ वर्षीय किसान चन्द्रबहादुर खड्काले बताए । यो सिजनमा सुन्तला बिक्रीबाट सात लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको उनको भनाइ छ । यस वर्ष सुन्तला राम्रो उत्पादन भएको र मूल्य पनि राम्रै पाएको किसानले बताएका छन् ।
प्रतिक्रिया