सत्तारुढ एमाले र कांग्रेसबीचको विवाद उत्कर्षतर्फ उन्मुख

सत्तारुढ एमाले र कांग्रेसबीचको विवाद उत्कर्षतर्फ उन्मुख


ग्लोब नेपाल
270
Shares

काठमाडौं । सत्तारुढ एमाले र काँग्रेसबीचको विवाद उत्कर्षतर्फ उन्मुख भएको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले ०८७ सालमा मात्र संविधान संशोधन हुन सक्ने अभिव्यक्ति दिएपछि दुई दलबीच विवाद उत्कर्षतर्फ उन्मुख देखिएको हो । केही दिनअघि सम्पन्न पार्टी केन्द्रीय समिति बैठकमा ओलीले ०८७ सालमा मात्र संविधान संशोधन हुन सक्ने परिस्थिति देखिएको बताएका थिए ।

०८७ साल नभई संविधान संशोधन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको एमाले नेताहरुले बचाउ गरेका छन् । संसदको गणितीय हिसाबलाई मूल्यांकन गरेर प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । यसको अन्यथा अर्थ लगाउँदा गलत हुनेसमेत उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको कांग्रेस नेताहरुले खुलेरै प्रतिवाद गरेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा बुधबार प्रतिवाद गरे । उनले ओलीको अभिव्यक्ति कांग्रेस र एमालेबीच वर्तमान सरकार गठनअघि गत १७ असारको मध्यरातमा भएको ७ बुँदे सहमतिको मर्मविपरीत भएको बताए । उनले ओली दुई दलबीचको सहमतिविपरीत ‘ब्याक गियर’ मा हिंड्न खोजेको टिप्पणी शर्माको थियो ।

हिजो बिहीबार कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि ओलीको अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा शर्माभन्दा अगाड बढेर केसीले ओलीको अभिव्यक्तिले वर्तमान गठबन्धन सरकारको औचित्य समाप्त भएको बताए । केसीले प्रधानमन्त्री ओलीले आफूहरुसँग गरेको सातबुँदे सहमतिको अपमान गरेको टिप्पणी गरे । ‘०८७ साल नभई संविधान संशोधन हुन सक्दैन भन्ने प्रधानमन्त्रीको भनाइले सातबुँदे सहमतिमाथि अपमान भएको छ र यो सरकारको औचित्य पनि समाप्त भएको छ’, केसीले भने ।

यस्तै अर्का नेता एनपी साउदले ओलीको अभिव्यक्तिले वर्तमान सत्ता गठबन्धनको औचित्यमा गम्भीर प्रश्न खडा भएको बताएका छन् । उनले ओलीको अभिव्यक्ति दुई दलबीचको सहमतिविपरीत भएको उल्लेख गरे ।

सरकार बनेको ६ महिना व्यतीत हुन लाग्दासमेत अर्थतन्त्रमा देखिनेगरी सुधारको संकेत नदेखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेरै कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्टि पोख्ने गरेका छन् । कांग्रेसकै अर्थविद्हरूले समेत सार्वजनिक रूपमै अर्थतन्त्र लयमा फर्किन नसकेको र दिनदिनै अवस्था खराब बनेको टिप्पणी गरिरहेका छन् ।