तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको अहिलेसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ ।
पूर्वी खण्डमा २७ दशमलव चार किलोमिटर दूरीमा अन्तिम चरणको कालोपत्र कार्य सम्पन्न भएको पूर्वी खण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
उहाँका अनुसार पहिलो चरणमा ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटर गरी १० सेन्टिमिटर सडक कालोपत्र गरिएको छ ।
सडक खण्डमध्ये ६९ किलोमिटर सडक दूरीमा दुई लेनका सडक कालोपत्र कार्य सम्पन्न गरिएको पूर्वी खण्डका सूचना अधिकारी पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार अन्तिम चरणको कालोपत्र गर्ने काम भइरहेको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम शुरू भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ ।
विं.सं. २०२६ मा रेखाङ्कन भएको सडकमा गाडीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।
पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको थियो । यस खण्डको सम्झौता म्याद समाप्त भएपछि पुनः फागुन २ गतेसम्मका लागि म्याद थप गरिएको छ ।
प्रतिक्रिया