सुर्खेत । कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले चार अर्ब २० करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबाट डोल्पाको त्रिपुराकोटसम्मकाे सडक स्तरोन्नति गर्न मन्त्रालयले बजेट सुनिश्चित गरेको हो ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्व शहरी विकासमन्त्री धनबहादुर बुढाले जानकारी दिए । लामो समयदेखि बजेट अभावले रोकिएको करिडोर निर्माणले अब गति लिने पूर्वमन्त्री बुढाले बताए ।
भेरी करिडोर सडक २१७ किलोमिटर लामो हुने छ । त्यसमध्ये जाजरकोट–डोल्पा सदरमुकाम दुनैसम्म ११८ किलोमिटर दूरी छ । अहिले जाजरकोटबाट तल्लुसम्मको ६२ किलोमिटर खण्डमा स्तरोन्नति भइरहेको छ । अब तल्लुबाट दुनैसम्मको बाँकी ५६ किलोमिटर सडकमध्ये तल्लु–त्रिपुराकोटसम्मको ४२ किलोमिटर सडक स्तरोन्नति हुने भएको हो ।
बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको यो खण्डमा अब नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए ।
अहिले बेलिब्रिज भएको ठाउँमा पक्की पुल निर्माण गर्ने आयोजनाको लक्ष्य छ । यस्तै त्रिदेशीय सडकका रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरको दुनै–लासिक्याप खण्डको काममा निर्माण व्यवसायीले ढिलाइ गर्दा लक्ष्यअनुसार उपलब्धि नहुने सम्भावना बढेको छ । ठेक्काको म्याद सकिन १ वर्ष बाँकी हुँदा १५ प्रतिशतमात्र भौतिक प्रगति रहेको छ ।
लासिक्यापबाट मरिमसम्मको सडक निर्माण गर्ने तयारीका साथ सेनाले रक्षा मन्त्रालयबाट भौतिक मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकेको छ । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको १०० किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।
प्रतिक्रिया