भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सकिएको छ ।
न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । लामिछाने बयानका लागि बिहान साढे १० बजे नै अदालतमा पुगे पनि दिउँसो २ बजेदेखि मात्र बयान सुरु भएको थियो ।
थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । अब बिहीबारदेखि थुनछेक बहस हुने छ ।
पूर्वगृहमन्त्री लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।
लामिछानेको पक्षमा बहस गर्न काठमाडौंबाट पनि कानुन व्यवसायी रुपन्देही आएका छन् । अधिवक्ता नारायणदत्त कँडेल, नारायण घिमिरे, सुशील पन्तसहितका कानून व्यवसायी आएका हुन् । रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ ।
त्यसैगरी, पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने छन् । उनीहरु पनि बहसका लागि रुपन्देही आइपुगेका छन् । सरकारी वकिलको कार्यालयको तर्फबाट १२ जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्ने छन् ।
लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा आएका थिए ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख र काठमाडौंकाे कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।
सुप्रिम सहकारीमा लामिछाने सँग ४ करोड बढी विगो माग गरिएको छ ।
प्रतिक्रिया