काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकार गठनको बेलामा संविधानको धारा ७६ (२) अनुसार सरकार गठन आह्वान नभए महाभियोग लगाउने चेतावनीपछि बाध्य भएको बताएका छन् ।
दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूलाई राष्ट्रपतिले नभनेपनि कांग्रेस एमालेकै नेताहरुले भनेको सुनेको दाबी गरे ।
उनले ओली सरकार असंवैधानिक भएको दोहोर्याउँदै भने, ‘मैले विश्वासको मत पाउदिन भन्ने त प्रष्टै थियो । तर, मैले प्रधानमन्त्री हुँदै राष्ट्रपतिलाई संविधानको रक्षा गर्ने तपाईंले नै हो भनेको थिएँ । उहाँले गर्ने विश्वास दिनुभएको हो । अहिलेको राष्ट्रपति बनेकै मेरै कारणले, माओवादी केन्द्रकै कारणले रामचन्द्र पौडेल राष्ट्रपति बन्नु भएको हो ।’
उनले थपे, ‘उहाँले ढुक्क रहनुस् म संविधान मिच्न दिन्न भन्नु भएको थियो मलाई । तर, कांग्रेस र एमालेकै नेताहरुले भनेको मैले सुनेको, राष्ट्रपतिजीले भनेको होइन । कांग्रेस र एमालेले संविधान मिच्न चाहनु भएन । नचाहेपछि एमाले नेतृत्वको सरकार बन्ने भएन । त्यो गठबन्धन बन्ने भएन । मैले सुनेको, कांग्रेस एमालेका नेताहरुले भनेको, उहाँहरुले हामीले भनेअनुसार भएन भने ७६ (२) अनुसार नै जानुभयो भने तपाईंलाई महाभियोगको लगाएर निकाल्छौं भनेपछि धर्मसंकटमा पर्नुभयो । कतिसम्म ठूलो चलखेल भएको छ संविधान मिच्नको लागि ।’
प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् ।
प्रचण्डले भने, ‘यो पटक म दशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु । हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याछौं । तपाईहरुले पनि आफ्नै छोराछोरी त हुन नी भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौं । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने छ । सामाजिक विवेधको अन्त्य गर्नेछ । न्याय स्थापित गर्नेछ । आर्थिक समृद्धिमा देश अगाडि बढ्ने छ । तपाईहरुले जनयुद्धमा साथ दिनुभयो । शान्तिप्रक्रियामा साथ दिनुभयो । अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस् । अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाईमा तपार्इहरुको साथ चाहियो । तपाइहरुले त्यो साथ दिनुहुनेछ भन्ने विश्वास छ ।’
तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफुले यसअघिका कमिकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टी प्रति सकारात्मक धारणा बन्दै गएकोसमेत दावी गरे ।
सो सकारात्मक परिस्थिति सरकारबाट बाहिर निस्केपछि आफुले देशभर गरेको अभियानमा जनताले देखाएको माया, पार्टी प्रवेशको बाट पुष्टि भएको उनले बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘सरकारबाट बाहिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । म यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भए । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु । जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर आएको छ । देशभर विभिन्न पार्टीका नेता कार्यकता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ ।’
माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठक र नेकपा एमालेको बैठकलाई जनताले तुलना गरेर हेर्ने गरेको उनले बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘दुई ठुला कम्यिुनिष्ट पार्टीको केन्द्रीय समिति बैठक भरखरै सकियो जसमा माओवादी केन्द्रले फरक विचारलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लग्यो । त्यती नै बेला एमालेको बैठकले भने फरक मत राख्नेहरु भिम रावल, विन्दा पाण्डे, उषाकिरण लगायतलाई कारबाहिको डन्डा चलायो । जनताले दुई पार्टीको केन्द्रिय समितिको बैठकलाई तुलना गरेर हेरेका छन् ।’
माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिक रुपमा सञ्चालन गर्नुका साथै माओवादी धारा र कम्यिुनिष्टहरुलाई एकताबद्ध गर्दै लैजाने उनले बताए ।
विप्लव लगायतका पूर्वमाओवादी धाराहरुसँग पार्टी एकताका लागि भैरहेका छलफललाई तर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले उत अभियानलाई छिट्दै पूर्णता दिने समेत जानकारी दिए । ‘माओवादी पार्टीहरुलाई एकताबद्ध बनाउने अभियान चलाइएको छ । त्यो अभियानले छिट्टै पूर्णता दिनेछौं,’ उनले भने ।
प्रतिक्रिया