तेह्रथुम । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् ।
तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृत्तिका कारण विदेश जाने क्राम बढ्दै गएको दाबी गरे ।
नेपालमा रोजगारीको अवसर सिर्जना नभएको, दिनानुदिन मुलुकको अर्थतन्त्र संकुचित भइरहेको, राजनीतिक स्थिरता नहुनु, भ्रष्टाचार बढ्नुलगायत कारणले सक्षम र पढेलेखेका युवायुवती विदेश गइरहेको बेला प्रचण्डले भने यस्तो दाबी गरेका हुन् ।
‘मलाई कता-कता आजभोलि देशभक्तिको भावना कमी हुँदै गएको हो कि?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको हो कि? भन्ने चिन्ता लागेको छ । म आम समुदायलाई अपिल गर्न चाहन्छु । हामी हाम्रा छोराछोरीहरूलाई, हाम्रा सन्ततिहरूलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफैं धनी, आफैं आत्मनिर्भर बन्ने बाटोतर्फ प्रेरित गरौं । विदेश पठाउन हतार नगरौं ।’
तेह्रथुम विकासले पछि परेको जिल्ला हो । यहाँको अत्यधिक जनसंख्या वैदेशिक रोजगारीमा छ ।
‘विदेशमा पनि टुंग्गो छैन । कहाँ के हुने हो । अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौं प्रवासीलाई विस्तापित गरिँदै छ । कतिबेला हजारौं नेपालीहरू फर्केर नेपाल आउनुपर्ने हो टुंग्गो छैन । त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठूलो लडाइँ भएर नेपालीहरू फर्किन पर्ने हो टुंग्गो छैन । हामीले आफ्नै देशको माटोमा पौरख गरौं। स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौं,’ उनले भने ।
देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता र साहसकोको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन् भन्ने स्थापित भएका कारण नेपालीहरूले यहाँको सम्भावनालाई अवसरमा बदल्नुपर्ने उनले बताए ।
‘हाम्रो देश साधन स्रोतविहीन देश होइन, हाम्रो देश साधान स्रोतले सम्पन्न देश हो। हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहनेत र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसकोको दृष्टिकोणले अब्बल मानिस हौं,’ उनले भने ।
अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहेको दाबी गरे ।
दाहाल नेपाली सेनाको हेलिकप्टर लिएर तेह्रथुम भ्रमणमा गएका हुन्। उनीसँग पार्टीका नेता वर्षमान पुन रहेका छन् ।


प्रतिक्रिया