काठमाडौं । अस्थिर राजनीतिका पर्याय बनेका दुर्गा प्रसाईलाई दुईवटै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गलहत्याएको छ । तर प्रसाईले कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल र राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपासँग सहकार्य नगर्ने घोषणा गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्किदा स्वागतका लागि आयोजित जुलुसमा प्रसाई सहभागी थिए ।
एयरपोर्टदेखि निर्मल निवाससम्म भएको र्यालीमामा पूर्वराजा ज्ञानेन्द्र चढेको गाडीभन्दा दुई स्टेप पछाडि प्रसाईंको गाडी थियो । महाराजगन्जबाट निर्मल निवासतिर मोडिदासम्म उनी उत्सवमा रमाइरहेका थिए । निर्मल निवास आइपुगेपछि उनको गाडीलाई टिचिङ हस्पिटलतिर लखेटेपछि उनी सन्निपातको विरामीझै लिङ्देन र थापाप्रति असन्तुष्टिका शब्द बरबर्राउन थाले । यहाँ उल्लेख गर्न नमिल्ने शब्दहरु उनी बरबर्राइरहेका थिए ।
त्यस दिनको र्यालीमा लिङ्देन नेतृत्वको राप्रपा, थापा नेतृत्वको राप्रपा नेपाल र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ पनि सहभागी भएका थिए। त्यसको २ दिनपछि मंगलबार प्रसाईंले लिङ्देन र थापासँग अब सहकार्य नगर्ने घोषणा गरेका छन्।
उनले भने, ‘अब राजा स्वयंले बोलिसकेपछि राजसंस्थाका विषयमा अरू कसैले धेरै बोलिरहन आवश्यक छैन। राजा स्वयं अगाडि बढिसकेपछि अब यो आन्दोलनको लिडर राजा नै हुनुहुन्छ। म सारथि थिएँ, छु र रहिरहनेछु। म राजासँगै मिलेर काम गर्न चाहन्छु, हलीसँग मिलेर सडक आन्दोलनमा जान्नँ, सबैलाई चेतना भया।’


प्रतिक्रिया