मञ्चमा राजा र प्रसाईंको बराबरको फोटो देखेपछि फरक्क फर्कें : बुद्धिमान तामाङ

मञ्चमा राजा र प्रसाईंको बराबरको फोटो देखेपछि फरक्क फर्कें : बुद्धिमान तामाङ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा सांसद बुद्धिमान तामाङले चैत १५ गते तीनकुनेको मञ्चमा पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंको बराबरको फोटो देखेपछि आफू फरक्कै फर्किएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिको बैठकमा सांसद तामाङले भने, ‘म गएँ, सरर हेरेँ । मञ्चमा राजाको फोटो, उही बराबरको दुर्गा प्रसाईंको फोटो । यो त खत्तम रहेछ भनेर फरक्क फर्कें । सिनामंगलसम्म आउँदा त अश्रुग्यास पड्कियो, सुरू हुन नपाइ मञ्चमै हान्दियो ।’

उनले अब राजावादीको जथाभावी कार्यक्रममा राप्रपा सहभागी नहुने बताए । उनले भने, ‘कसको कार्यक्रम क्लियर हुनुपर्‍यो, जथाभावी कार्यक्रम गर्ने हो भने हामी सहभागी हुन्नौं भनेर बैठकबाट निर्णय पास गर्‍यौं । तर त्यो घटनाको तुरुन्त न्यायिक जाँच होस् । राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकारवादीबाट जाँच होस् ।’

उनले आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा पनि थुनामा रहेकोले सत्य बाहिर आउनुपर्ने बताए ।

‘सत्यतथ्य आउनुपर्छ । वरिष्ठ उपाध्यक्ष र महामन्त्री थुनामा हुनुहुन्छ । नेपालको भएभरको कानुन सबै लगाएको छ’, तामाङले भने, ‘जाँच हुनुपर्छ, एक ढंगले पेल्ने काम भएको छ । सरकारले अहिलेसम्म न्यायिक जाँच आयोग किन गठन गरेन ? मानव अधिकार आयोगलाई किन लगाउँदैन । प्रवेश दिनुपर्‍यो नि, त्यसपछि जसको गल्ती छ, उसलाई नेपालको जे जे कानुन छ लगाऔं ।’

राजसंस्था पुनर्स्थापनाका लागि चैत १५ गते शुक्रबार तीनकुनेमा राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले तोकेका ‘जनकमाण्डर’ प्रसाईंको आह्वानमा उक्त प्रदर्शन भएको थियो । घटनापछि प्रसाईं फरार छन् ।