शेयर बजारमा आज सामान्य उतारचढाव, कारोबार रकममा कमी

शेयर बजारमा आज सामान्य उतारचढाव, कारोबार रकममा कमी



काठमाडौँ । लगातार दोहोरो अङ्कको गिरावटपछि आज शेयर बजार केही स्थिर देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ०.१४ अङ्कले मात्र घटेर २,६८३.८६ विन्दुमा झरेको छ।

बैंकिङ, होटल तथा पर्यटन, बीमा, म्युचुअल फन्ड र अन्य समूहबाहेक आज बाँकी सबै समूहको सूचक हरियो बनेको छ। फाइनान्स समूहको सूचक १.२५ प्रतिशतले उकालो लागेको छ।

दोस्रोपटक बाढीको प्रकोपमा परेको रसुवागढी जलविद्युत् आयोजनामा आज क्षति पुगेपछि रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर ५ प्रतिशतले ओरालो लागेको हो। यता, बुटवल पावर कम्पनीको शेयर भने आज ८ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ। हिजो ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज जम्मा ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। आज ३०४ कम्पनीका १ करोड ५० लाख कित्ता शेयर किनबेच भएका छन्।