उपभोक्ता समिति दलगत गुटबन्दीको थलो भए : योगेश भट्टराई

उपभोक्ता समिति दलगत गुटबन्दीको थलो भए : योगेश भट्टराई



काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले विकास निर्माणको काम उपभोक्ता समितिमार्फत गराउन नहुने धारणा राखेका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसद भट्टराईले उपभोक्ता समिति अहिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको टिप्पणी गरे ।

विगतमा उपभोक्ता समितिमार्फत काम हुँदा ठेकेदारभन्दा प्रभावकारी हुने भए पनि पछिल्लो समय उपभोक्ता समितिमा बेथितिका चाङ रहेको उनको भनाइ छ । उनले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्दा दलगत गुटबन्दी र राजनीतिक विकृति फैलिएको बताए ।

“उपभोक्ता समितिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बनेको छ । यसले राजनीतिक दलहरूलाई समेत विभाजन हुने गरी गुटबन्दी गरिरहेको छ । अब उपभोक्ता समितिबाट काम गर्न दिनुहुँदैन । यसका लागि आवश्यक ऐन बनाउनुपर्छ,” उनले भने ।

सांसद भट्टराईले खानेपानी, सिँचाइ तथा मलको उपलब्धतासम्बन्धी विषयमा सरकारलाई निर्देशन दिन पनि माग गरे ।