मुद्दाकै कारण पार्टीले बिदा गर्छ भने स्वीकार्छु : माधव नेपाल

मुद्दाकै कारण पार्टीले बिदा गर्छ भने स्वीकार्छु : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार्न तयार रहेको बताएका छन् ।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूमाथि मुद्दाकै आधारमा कमिटीले बिदा गरे आफू बिदा भएर जान तयार रहेको बताए ।

अझै पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने नेपालको भनाइ थियो । उनले भने, ‘मेरो कुरा गर्ने हो भने ममा आँट छ । पार्टी बनाएर अगाडि बढ्ने कुराको सन्दर्भमा चुनौतीका साथ मैले भन्न चाहन्छु, यस्ता चुनौतीको सामना गर्दै आइएको छ। फेरि पनि चुनौतीको सामना गरिन्छ ।‘

जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको पनि उनले दोहोर्‍याए । मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै आफूमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको नेपालले दाबी गरे ।

‘अहिले ममाथि प्रतिशोध साँध्नेहरू पछि आफूले खनेको खाल्डोमा आफैँ पर्न सक्छन्’, उनले थपे, ‘कसैले मलाई भ्रष्टाचारको आरोप लगाउँछ भने अब धेरै बोल्न भएन । … तर मेरो बानी के छ भने म धेरै नरम मान्छे हुँ । तर झोक चलेपछि मभन्दा कडा मान्छे कोही पनि छैन । त्यसपछि म वार कि पारको लडाइँ लड्ने मान्छे हुँ ।‘