संघीय मामिलामन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

संघीय मामिलामन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार



काठमाडौं । घुससम्बन्धी अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीले बोलाएपछि केहीबेर अघि मन्त्री गुप्ता बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री गुप्ताले घुस रकम डिल गरेको अडियो सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भइरहेको विषयमा बुझ्न प्रधानमन्त्रीले मन्त्री गुप्तालाई बोलाएको बुझिएको छ ।

गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो ।

उक्त अडियो सार्वजनिक भएपछि गुप्तालाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ । सम्भवतः मन्त्री गुप्ता आजै राजीनामा दिने अनुमान गरिएकाे छ ।