स्वर्ग र नर्ककै गोलचक्करको पासोमा कांग्रेस पर्‍याे : प्रचण्ड

स्वर्ग र नर्ककै गोलचक्करको पासोमा कांग्रेस पर्‍याे : प्रचण्ड

दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बन्याे



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीकाे पासोमा परेकाे बताएका छन् ।

संसदमा सोमबार विशेष सम्बोधन गर्दै उनले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेकोमा कांग्रेसको आलोचना गर्दै लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदमको साक्षी मात्रै कांग्रेस बनिरहेको टिप्पणी गरे ।

उनले भने, ‘संसद्को सबैभन्दा ठूलो दल हो कांग्रेस । एकपछि अर्को स्वेच्छारिताका श्रृंखलाहरू जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ ।’

गत वर्ष विश्वासको मत दिने क्रममा गरिएको आफ्नै सम्बोधन स्मरण गर्दै प्रचण्डले अप्राकृतिक गठबन्धन, कुशासन र सत्ताका अहंकारी प्रवृत्तिले लोकतन्त्रलाई संकटमा पार्ने चेतावनी आफूले पहिल्यै दिएको बताए । उनले हालै देखिएका प्रतिगामी हर्कतहरू सरकारकै कमजोरी र असन्तुलनको परिणाम भएको उल्लेख गरे ।

सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्न मिहिनेत गरेको स्मण गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिमा आफूले खेलेको सकारात्मक भूमिकाको बेलाबेलामा अवमूल्यन हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘सत्ता सञ्चालनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्ने हाम्रो प्रयासलाई अस्थिरता ठान्नु तपाईंहरूको दृष्टिकोण हो, तर लोकतन्त्रको नाममा आज जुन बाटो रोजिएको छ, त्यसले तपाईंहरूको राजनीतिक ग्राफ झनै खस्किएको छ,’ उनले भने ।

प्रचण्डले भ्रष्टाचार, अराजकता र बेथिति मौलाएको, सार्वजनिक सेवामा पहुँच कठिन भएको र पछाडि पारिएका समुदायलाई राज्यले आवश्यक संरक्षण दिन नसकेको बताए ।

संसद र संसदीय समितिमा भइरहेका भूमिकाप्रति समेत असन्तुष्टि जनाउँदै उनले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको भन्दै चर्को आलोचना गरे । अध्यक्ष प्रचण्डले दुई ठूला दलहरूको मिलोमतोले संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइएको आरोप लगाउँदै यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरे ।

उनले लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिँदै, यदि गम्भीर समीक्षा र कठोर निर्णयहरू गरिएनन् भने परिस्थिति विस्फोटक बन्न सक्ने चेतावनी दिए ।

उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलताप्रति प्रश्न उठाए ।

उनले स्मरण गराउँदै भने, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ । त्यसपछि बनेको सरकारको पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो ।’

तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाए । ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट ?’ प्रचण्डले सोधे ।