घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा



काठमाडौं । घुस डिलसम्बन्धी अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

आफुले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिइसकेको मन्त्री गुप्ताले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर सोमबार सोधपुछ गरेका थिए ।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो ।

मन्त्री गुप्ताले आफ्नो आवाज परीक्षणका लागि तयार रहेको तथा पैसा आफ्नो र मन्त्रालय दुवैको खातामा नआएको दाबी गरेका छन् ।

प्रधानमन्त्रीले सोमबार २४ घण्टाभित्र राजीनामा बुझाउन निर्देशन दिएका थिए । सोही निर्देशनपछि गुप्ताले राजीनामा दिएका हुन् । गुप्ताले राजीनामा सम्बन्धमा सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।

“विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दोरहेछ । म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु । प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेबारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिवद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।”

बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न नपाएपछि स्वकीय सचिव राजेश बज्राचार्यलाई पत्र बुझाएर फर्किएका हुन् ।

गुप्ता एमालेका प्रतिनिधि सभा सांसद हुन् ।