स्पेन भ्रमणबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

स्पेन भ्रमणबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन



काठमाडौं । स्पेन भ्रमणमा भिजिट भिसामा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।

सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहनेगरी ६ सदस्यीय समिति बनाइएको हो ।

गृहमन्त्री रमेश लेखके प्रहरीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिएसँगै समिति गठन गरेर काम सुरू भइसकेको एसएसपी बोगटीले बताए

प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर पठाएको भन्दै संघीय संसदमा सांसदहरुले प्रश्न उठाइरहेका छन् ।

सेभिल्लामा ३० जुनदेखि २ जुलाईसम्म सम्मेलन चलेको थियो । त्यसमा सहभागी गराउन बिचौलियाहरूले रकम असुलेर केही व्यक्तिहरूलाई भिजिट भिसामा विदेश पठाएको आरोप छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको बताएकी थिइन् ।

उनको भनाइपछि कतिपय व्यक्तिहरू नेपाल नफर्किएको भनेर समाचारहरू प्रकाशन भएका थिए ।