एमालेमा मेरो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्छ : पूर्वराष्ट्रपति भण्डारी

एमालेमा मेरो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्छ : पूर्वराष्ट्रपति भण्डारी

‘संसद विघटन संविधान बमोजिम नै सदर गरेकी हुँ’



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीका बारेमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् ।

मदन भण्डारी फाउन्डेसनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले एमालेमा आफू सक्रिय भइसकेकोले आफूलाई कुन जिम्मेवारी दिने भन्नेबारे सोही कमिटीको बैठकले तय गर्ने बताएकी हुन् । उनले महाधिवेशन नभएसम्म केन्द्रीय कमिटी नै उपल्लो तहको नेतृत्व भएको बताइन् ।

उनले थपिन्, ‘कुन संरचनामा के भूमिका हुने भन्ने कुरा पार्टीको माथिल्लो तहको नेतृत्वले निर्णय गर्ला, महाधिवेशन अघि केन्द्रीय समिति माथिल्लो निकाय हो त्यसले के निर्णय गर्छ भन्नेमा भर पर्छ ।’

उनले एमालेको विधान महाधिवेशनमा भाग लिने विषय सिन्द्धान्ततः दशौं महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भएका पनि केन्द्रीय सदस्य र प्रतिनिधि नयाँ थपिएकाले पार्टीले यसबारे निर्णय गर्ने बताइन् ।

दशौं महाधिवेशनमा भाग नलिएका व्यक्ति पनि केन्द्रीय सदस्य र प्रतिनिधि मनोनीत भएको भन्दै मनोनयबाट आफू त्यसमा सहभागी हुन सक्ने तर्क उनकाे छ ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा भएको २ पटकका संसद विघटन दबाबमा नभएर संवैधानिक कानूनी व्यवस्थाअनुसार नै गरेको दाबी गरेकी छन् ।

उनले २०१७ सालदेखि पटकपटक संसद विघटन भएको भन्दै आफू राष्ट्रपति भएका बेला पनि मन्त्रिपरिषदको सिफारिसमा संविधान बमोजिम भएको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले २०१७ साल,२०५१ साल,२०५९ सालमा पनि संसद विघटन भएको भन्दै विघटनका राजनीतिक पाटोका बारेमा आफू छलफल गर्न तयार रहेको बताइन् ।

संविधानले मन्त्रिपरिषदको सिफारिस कार्यन्वयन गर्ने दायित्व राष्ट्रपतिलाई भएको स्मरण गराउँदै उनले सोही बमोजिम आफूले गरेको र कसैको दबाबमा नपरेको प्रष्ट पारिन् ।

यसैबीच, स्वर्गीय जननेता भण्डारीको ७५ औं जयन्ती मूल व्यवस्थापन समिति गठन भएको छ ।

भण्डारी प्रमुख संरक्षक रहेको समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने समितिमा देशैभरका विभिन्न तहका नेता कार्यकर्ता समेटिएका छन् ।