नेपाल इभी युगमा गइसक्यो : यातायातमन्त्री दाहाल

नेपाल इभी युगमा गइसक्यो : यातायातमन्त्री दाहाल



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल इभीको युगमा प्रवेश गरिसकेको बताएका छन् ।

महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरूआत गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने बताए ।

उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपालपछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए ।

उनकाअनुसार पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग र उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन्। उनले मुलुकलाई संघीय संरचनामा लगेपछि कतिपय दुविधा देखिएको बताए ।

दाहालकाअनुसार संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन् । यसमा संघले समन्वय गरेर दुविधा हटाउन खोजिरहेको छ ।

मन्त्री दाहालकाअनुसार डाइभिङ लाइसेन्सको समस्या हल भएको छ । उनले आफू मन्त्री भएर आएपछि अनवरत प्रयत्न गरेर समस्या हल गरेको बताए । अब लाइसेन्स दिने काम प्रदेशको भएकाले साउन १ देखि प्रदेशले नै दिने उनको भनाइ छ ।

मन्त्री दाहालले भने, ‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् । उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रूपमा करिडोरलाई विकास गर्दछौं। जसले भारत, नेपाल चीन जोड्न सघाउ पुग्नेछ । संसारका ठूला देशहरूलाई जोड्न सकियो भने धेरै लाभ लिन सक्नेछौं। ’

अब सार्वजनिक गाडीहरूमा क्यासलेस सिस्टम लागू गर्नुपर्ने उनले बताए ।

साना गाडीहरू विस्थापन गर्ने नीति सरकारको रहेको उनको भनाइ छ । मन्त्री दाहालले नेपाल सरकारले जामलाई कसरी व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै यातायात व्यवसायीहरूसँग बसेर यातायातका समस्याका बारेमा छलफल गर्न आफू तयार रहेको उनले बताए ।