वाम एकता अहिलेको आवश्यकता हो : झलनाथ खनाल

वाम एकता अहिलेको आवश्यकता हो : झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी एकता वर्तमान समयको आवश्यकता भएको बताएका छन्।

राष्ट्रिय एकता अभियानसँगको पार्टी एकता घोषणा सभामा बोल्दै उनले वाम एकताका लागि स्पष्ट नीति र सिद्धान्तको खाँचो रहेको उल्लेख गरे। खनालले विचार, मार्गदर्शन र कार्यदिशामा एकरूपता बिना एकता सम्भव नहुने स्पष्ट पार्दै अहिलेको परिस्थितिमा वाम शक्ति एकत्र हुनु समयको माग भएको बताए।

उनले भने, ‘समीक्षा गरेर वामपन्थी एकताको साझा आधार तयार पारेर सम्पूर्ण वामपन्थीहरुलाई एकताबद्ध गर्नु आजको महत्वपूर्ण कर्तव्य हो । त्यसका लागि हामी आफैं बदलिनुपर्छ । हामीले पार्टीलाई बलियो बनाउनुपर्छ, गलत चिन्तन हामी भइरहेका छन्, त्यसकाविरुद्ध दृढतापूर्वक संघर्ष गर्नुपर्छ ।’

उनले अघिल्लो पटक एमाले र माओवादीबीच भएको पार्टी एकता नीतिगत आधारमा निर्माण गर्न नसकिएको कारणले टिक्न नसकेको जिकिर गरे। दुई तिहाइ बहुमत प्राप्त पार्टीसमेत देशको कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादमा परिणत गरेको आरोप उनले लगाए।

नेकपा विघटनपछि मुलुक चौतर्फी राजनीतिक संकटमा फसेको खनालको टिप्पणी थियो।