होटल याकमा शेखर समूहका मन्त्री र सांसदहरूकाे छलफल

होटल याकमा शेखर समूहका मन्त्री र सांसदहरूकाे छलफल



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका छन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेता कोइरालाले आइतबार बिहान र दिउँसो समूह-समूहमा बेग्लाबेग्लै रूपमा आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका हुन् ।

ओली नेतृत्वको सरकारमा कोइरालाले आफू पक्षबाट ४ जना मन्त्री पठाएका थिए । कोइराला समूहको आन्तरिक छलफलमा सरकारमा सामेल कांग्रेसका मन्त्रीहरूका कामकारबाहीप्रति पनि गुनासा उठेका छन् ।

साथै पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा केन्द्रीय अनुशासन समितिले १८ जना नेता कार्यकर्तामाथि अनुशासन कारबाही गरेको भन्दै उक्त अनुशासन कारबाही फिर्ताका लागि दबाब दिन सांसदहरूले सामूहिक राजीनामा दिनेसम्मको प्रसंग पनि छलफलमा उठेको ती सांसदले जानकारी दिए ।

गत असार २६ गतेकाे कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको थियाे ।

पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि छलफलको क्रम तीव्र पारेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाहीप्रति असन्तुष्ट रहेका नेता कोइरालाले पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका थिए ।