सिरहा । सिरहा जिल्लाको सदरमुकामस्थित कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच दोहोरो झडप हुँदा १३ जना घाइते भएका छन्।
झडप अपराह्न करिब साढे ३ बजे सुरु भएको हो, जसमा हात हालाहाल र ढुंगामुढासमेत भएको बताइएको छ। जिल्ला प्रशासनका सहायक प्रमुख चेतराज बरालका अनुसार, घाइतेहरूलाई प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ र अहिले अवस्था सामान्य छ।
घटनास्थलमा स्थिति नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र कारागार प्रशासनको संयुक्त टोली परिचालित गरिएको थियो। प्रारम्भिक अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक (डीएसपी) को नेतृत्वमा टोली खटाइएको छ।
जानकारी अनुसार, कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी राखिएको छ। यसै भीडभाडका बीच शनिबार बिहान प्रहरीले जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सर्च अपरेशन चलाएको थियो।
खोजतलासका क्रममा केही अवैध क्रियाकलाप र अनुशासनहीन गतिविधिका संकेत फेला परेको आशंका गरिएको थियो।
सर्च अपरेशनको भोलिपल्टै झडप भएकोले, केहीले यसलाई सोही कारबाहीको प्रतिक्रिया भनेर हेरेका छन्। तर घटनाको ठोस कारणबारे अनुसन्धान जारी छ।


प्रतिक्रिया