काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे आज महत्वपूर्ण निर्णय हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दा केही निर्णय लिने अपेक्षा गरिएको छ ।
हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताबारे छलफल चलिरहेको उनले जानकारी दिए । भण्डारी एमालेको सक्रिय राजनीति फर्किने विषय, पार्टी सदस्यता र संगठित सदस्यताको व्यवस्था गर्नेलगायतका विषयमा धारणा राखेको उनले बताए । ‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्यूले अन्तिम बैठकको अन्तिममा सम्बोधन गर्दा केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौं,’ प्रचार विभाग प्रमुख गौतमले भने ।
‘राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर संविधानमा उल्लेख छ । यसका अतिरिक्त संविधानको भाग–२८ धारा २६७ को २ मा राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ भनिएको विषयलाई आधार मान्दै अधिकांश केन्द्रीय सदस्यले राष्ट्राध्यक्ष भैसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने भन्ने विषय प्राविधिक होइन र यो पार्टी विशेषको विषय पनि होइन,’ गौतमले भने, ‘यो महत्त्वपूर्ण राजनीतिक विषय हो ।’
यसले भोलि जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव पार्छ यो सबै संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत छ’ प्रचार विभाग प्रमुख गौतमले भने ।


प्रतिक्रिया