काठमाडौं । वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। ३७ वर्षीय रसेलले अस्ट्रेलियाविरुद्ध सबिना पार्कमा खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलपछि क्रिकेटलाई विदाई गरे।
आफ्नो जन्मभूमि जमैकाको मैदानमै अन्तिमपटक खेल्दै उनले १५ बलमा आक्रामक ३६ रन बनाए, जसमा ६ छक्का र २ चौका सामेल थिए। उनले खेलपछि दर्शक र वेस्टइन्डिज क्रिकेट बोर्डप्रति आभार व्यक्त गर्दै भने, “सबिना पार्कमा आफ्ना समर्थकमाझ अन्तिम खेल खेल्न पाउँदा गर्व लागेको छ। नतिजा हाम्रो पक्षमा आएन, तर मैले यहाँसम्मको यात्रामा पाएको माया कहिल्यै बिर्सिन्न।”
आन्द्रे रसेलले आफ्नो टी–२० करिअरमा ८५ खेल खेलेका छन्, जसमा उनले १०८६ रन बनाएका छन् र ६१ विकेट लिएका छन्। उनी सन् २०१२ र २०१६ मा वेस्टइन्डिजले जितेको टी–२० विश्वकप टोलीका महत्वपूर्ण सदस्य समेत थिए।
उनको बिदाइको बेला अस्ट्रेलियाली टोलीले ‘गार्ड अफ अनर’ दिँदा मैदान भावुक बन्यो। उनले भविष्यप्रति आशावादी हुँदै भने, “अब नयाँ खेलाडीहरू — शेफर्ड, रदरफोर्ड, अल्जारी, होल्डरहरू तयार छन्। म उनीहरूलाई सफलताको शुभकामना दिन्छु।”

आन्द्रे रसेलको यो विदाईले क्रिकेटप्रेमीहरूको मन छोएको छ। उनी खेल इतिहासमा आफ्नो आक्रामक ब्याटिङ र प्रभावशाली प्रदर्शनका लागि सदैव सम्झिइने छन्।


प्रतिक्रिया