नेताको भोट बढाउन विमानस्थल बनाउन हुँदैन : योगेश भट्टराई

नेताको भोट बढाउन विमानस्थल बनाउन हुँदैन : योगेश भट्टराई



काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थल बनाउन नहुने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

समितिमा छलफलका क्रममा उनले नेपालमा ५५ विमानस्थल रहेका र त्यसमध्ये सञ्चालन ३२ वटा मात्र भइरहेको उल्लेख गरे । सरकारले नीति तथा कार्यक्रममा विमानस्थल थप्ने विषय ल्याउनु उचित नरहेकामा उनले जोड दिए ।

विमानस्थल थप्ने ‘फेसन’ हुन नहुने उनले बताए । राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने र भएकालाई व्यवस्थित बनाएर विस्तार गर्न जरुरी रहेको उनले औँल्याए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मात्र अबको प्राथमिकतामा पर्नुपर्ने उनले बताए ।

समिति बैठकमा भट्टराईले भने, “हाम्रो नेपालको हवाई सेवाको इतिहास हेर्दा १९४९ मा पहिलोपटक हवाई सेवा सुरु गरेका थियौँ । त्यसयता अहिलेसम्म १०८ वटा दुर्घटना भएका छन् । यसबाट ९५९ जना मान्छेको ज्यान गएको छ । यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन् । यी ऐनहरू किन बनाइरहेका छौँ भन्दा यी दुर्घटनाहरूलाई कसरी मिनिमाइज गर्ने, मानवीय त्रुटि, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या होलान् । जाँचबुझ आयोगले निर्क्योल गरेकै छ । ५५ वटा एयरपोर्ट हाम्रोसामु छन् । यी बारेमा पनि छलफल होस् । अब नेपालमा कति एयरपोर्ट चाहिन्छ ? हाम्रो भूगोल, जनसंख्या, सडक यातायातको पहुँच आदि कुराहरूले अब एयरपोर्टको प्राथमिकताका बारेमा पनि छलफल हुनुपर्छ । ५५ वटा एयरपोर्टहरू सबै सञ्चालनमा छैनन् । ३२ वटाजति होलान् । त्यही पनि सबै रेगुलर छैनन् । कठोर लाग्न सक्छ । फेरि पनि नीति तथा कार्यक्रममा एयरपोर्ट थप्ने कुरा नै आइरहेको छ, मलाई त्यत्ति राम्रो र उचित लाग्दैन । यो फेसन हो । राजनीतिक दबाब । राजनीतिक दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति अब एयरपोर्ट बनाउनु हुँदैन । यसले राष्ट्रको ठूलो क्षति हुन्छ । निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट हाम्रो प्राथमिकतामा हुनुपर्छ । त्यसबाहेक अरू एयरपोर्ट बनाउनुपर्छ जस्तो मलाई लाग्दैन । भएका एयरपोर्टहरूको क्षमता विस्तार गर्ने हो ।”